Pages

Wednesday, April 04, 2012

नेपाली-गैर नेपाली बिहे अनुभव आ-आफ्नै


विष्णुप्रसाद पौडेल न्युयोर्क


by nepalarabघामको ´झुल्को उदाएदेखि नअस्ताएसम्म हामीबीच आफ्नो संस्कृति र परम्परासँग सधैं सम्झौता गर्नुपथ्र्यो यसले गर्दा पनि हामीबीच मायाको दुरी बढ्दै गयो । त्यसपश्चात हामी डिभोस्र गर्न बाध्य भयौं– भन्छन् अजय छोचुंन तर पनि अझै उनी मप्रति चिन्तित भएको पाउँछु र ममा पनि उनीप्रतिको माया भने हट्न सकेको छैन । डिभोर्स भएपछि पनि बेलाबेलामा कुराकानी भइरहन्छ । 

अजयको भन्दा बेग्लै भोगाइ छ पोखरा घर भएका देवीरमण सापकोटाको । अमेरिकी महिलासँग लामो समयदेखि सुखद दाम्पत्य जीवन बिताइरहेका छन् उनी । सुखद दाम्पत्य जीवनको श्रेय उनी सांस्कृति समझदारीलाई दिन्छन् । एसियाली जीवनशैली बुझेकी उनकी जीवनसाथीले नेपालमै आएर परम्परा र संस्कृतिलाई राम्रोसँग अध्ययन अवलोकन गरेकी थिइन् । देवी र अजयले भने झैं विभिन्न भाषा संस्कृति र परम्परा भएकाहरुबीच आनिबानी र जीवनशैलीमा फरकपन हुन्छ नै । त्यसमा सम्झौता भए सम्बन्ध दीगो हुन्छ नभए छोटो ।

अजयको अनुभवमा नेपालीभन्दा गैरनेपालीहरु खुला र उदार हुन्छन् । पारदर्शिता पनि गैरनेपालीहरुको विशेषता हो । बन्द समाजभित्र हुर्के बढेका नेपालीहरुको गैरनेपालीसँगको दाम्पत्य जीवनको अनुभव कतै छोटो त कतै लामो पनि भेटिएको छ । उदार र खुला समाज र बेग्लै भाषा संस्कृति अनि परम्परा भएकाहरुसँग नेपालीहरुले गाँसेको जीवनसाथीको सम्बन्धका विभिन्न उतारचढावलाई एउटै निष्कर्षमा उतारेर सफल वा असफल भन्न सकिने अवस्था छैन । 

नेपाली र भिन्न भाषा परम्परा भएका व्यक्तिबीचको बिहे नेपालभित्रै अझै नौलो विषय हो । किन भने नेपालभित्र नेपाली-नेपालीबीच पनि जात वा धर्म संस्कृति नमिले बिहे हुन गाह्रो हुन्छ । 

केही राजामहाराजाहरुले नेपाली भाषा संस्कृति नजानेका रानी भित्र्याएका उदाहरण छन् । दरबारभित्र र बाहिरका केही गिनेचुनेका व्यक्तिहरुको बिहे गैरनेपालीहरुसँग भएको छ । तर सामान्य नेपाली परिवारमा भने बिरलै त्यस्ता सम्बन्ध गाँसिएका छन् । जब सर्वसाधारण नेपालीहरुको पनि सातसमुन्द्रपारिका राष्ट्रहरुमा पहुँच पुग्यो तब गैरनेपाली र नेपालीबीचका बिहेबारीलगायत सम्बन्धहरु सामान्य परिवारसँग पनि गाँसिन थालेका हुन् ।

मेरी श्रीमतीलाई एसियन कल्चर थाहा भएकाले पनि हामीमा त्यस्तो कुनै कल्चरको समस्या छैनु भन्छन् –देवीरमण सापकोटा । सापकोटाका अनुसार विदेशीहरुसँगको विवाहमा अल्लि स्वतन्त्रता बढी हुन्छ । उनीहरु खुला हृदय भएको अर्थात सबै कुरामा खुला हुन चाहन्छन् । उनी थप्छन् मेरो हकमा मेरो श्रीमती बढी असहाय दुखीहरुलाई सेवा गर्ने भावनाकी छन् । 

सापकोटा दम्पतीहरु संस्कृति र परम्पराहरुमा सम्झौता गर्छन् । दुवैतिरका परम्परालाई एकापसमा मिलेर सेलिब्रेट गर्ने बानी उनीहरुले बसालेका छन् । हामी आफ्ना चाडपर्वहरु मान्ने सवालमा दुवैजनाले खाना खाने सवालमा पनि हामी दुवैलाई दुवैको खाना मिठो हुन्छ ।

सामान्यतः श्रीमान/ श्रीमती भएपछि कहिलेकाहिँ सामान्य वादविवाद त भइहाल्छ तर पनि हामी एक अर्कालाई चिनेको पनि १२/१३ वर्ष भइसकेकाले पनि दुवैजना एकछिनमै शान्त हुन्छौं सापकोटा भन्छन् ।

नेपाल विकासमा पछाडि परेको भए पनि नेपाली भाषा संस्कृति मन पराउने विदेशीहरु पनि थुप्रै छन् । कतिपयले नेपालका गाउँपाखामा अध्ययन अनुसन्धान गर्दै नेपालमै घरजम पनि गरेका छन् । नेपाली परम्पराको मौलिक संस्कृति लोकदोहोरीमा अमेरिकाकी आना स्टरले विद्यावारिधि नै गरिन् । त्यतिले मात्रै सायद उनको नेपाल प्रेम पूर्ण भएन र नेपाली युवा राम सिंहसँग बिहे गरी घर बसाइन् । आना स्टरले नेपाली भाषा सिकेरै लोकदोहोरीमा अध्ययन गरेकाले उनीहरुको दाम्पत्य जीवनमा भाषाको पर्खाल खडा हुनै पाएको छैन । 

आनाका अनुसार नेपालमै पनि पश्चिमाञ्चलमा बस्ने नेपाली र सुदूर पश्चिमाञ्चलमा बस्ने नेपालीबीच पनि केही भाषा र संस्कृतिमा फरक छ भने भिन्न देशको मान्छेसँगको सम्बन्धमा त फरक अवश्य नै हुन्छ । आना भन्छिन् मेरो हकमा म आफूलाई धेरै भाग्यमानी सम्झन्छु मलाई नेपाली भाषा र संस्कृति सिक्ने सु-अवसर मिलेको छ । 

त्यसैगरी आनासँग विवाह बन्धनमा बाँधिएका कलाकार राम सिंह भन्छन्– मेरी श्रीमती आना धेरै वर्ष नेपालमा बसेकाले पनि नेपाली कल्चरबारे सबै थाहा छ । मलाई सम्झना नभएका चाडपर्वहरु पनि उनले सम्झाउने गर्छिन् । त्यो मेरा लागि गर्वको कुरा हो ।

सापकोटाकी श्रीमती आर्ट हिस्ट्रिी एन्ड डिजाइन सम्बन्धी प्रोफेसर हुन् । त्यसैले उनीहरुले आफ्ना बच्चाहरुलाई पनि दुवैको भाषा संस्कृति सिकाउने प्रतिबद्धता गरेका छन् । यो पनि उनीहरुबीचको एउटा समझदारी नै हो । 

त्यसो त नेपाली-नेपाली भएका वैवाहिक सम्बन्धमा फाटो परेका धेरै उदाहरण छन् । नेपालकै अदालतहरु अचेल सम्बन्ध विच्छेदका मुद्दा पर्नुले पनि त्यही कुरा पुष्टि गर्छ । 

दुई देशका नागरिकहरुको सम्बन्ध भाषा संस्कृतिभन्दा माथि राष्ट्रियतासँग पनि सम्बन्धित हुन्छ । युद्धका बेला यस्ता सम्बन्धहरुमा संक्रमण देखापर्ने इतिहासले देखाएको छ । तर नेपालले कुनै देशसँग पनि शत्रुवत सम्बन्ध नराखेकाले त्यस्तो समस्या नआउने नै सम्भावना बढी छ । राष्ट्रियता युद्धका बेलामात्रै सम्झना गरिने विषय भने होइन । दाम्पत्य जीवनमा राष्ट्रियताका सवाल उठ्दा दुवैले दुवैको राष्ट्रियताको सम्मान भने गर्नैपर्छ नगरे सम्बन्धमा त्यसले पनि फाटो ल्याउन सक्छ भन्छन् अजय छोचुन । आफ्नो श्रीमान् पनि आफ्नो देशप्रति आफूले जस्तै देशलाई माया गरोस् भन्ने चाहना श्रीमतीले राख्थिन् । कुलको सन्तान चरित्रवान हुन्छ नैतिकवान र सुसंस्कृत हुन्छ भन्ने विश्वास गरिन्छ । परिवारका सदस्यहरुको प्रोफाइल पनि नेपालमा बिहेअघि सोधिखोजी हुन्छ । तर विदेशमा भने खास व्यक्तिबाहेक अरुको सरोकार राखेको पाइन्न ।

नेपालबाहिरको समाज आफैंमा इन्डिभिज्युल सोसाइटी पनि हो । नेपालमै बस्ने नेपालीका लागि बिहे पारिवारिक र सामाजिक सम्बन्ध पनि हो भने बाहिर केवल व्यक्तिगत । त्यसैले नेपाल छाडेर आएका नेपालीले मन मिलेपछि कुनै जात धर्म वर्गको नहेरी मन मिलेकै आधारमा बिहे गरेका छन् । 

कतिपय नेपालीले गैरनेपालीसँग बिहेअघि गरेको इन्गेजमेन्टमै सम्बन्ध टुंगिएको पनि छ । कसैले केही महिना मात्रै सँगै बिताएका छन् । कतिले विदेशमा रहनबस्न परेको गाह्रोसाह्रोका बेला विदेशीसँग बिहे गर्ने र पछि छाड्ने पनि गरेका छन् । गैरनेपाली र नेपालीबीचको बिहेको कतिको संख्यामा छ भन्ने यकिन तथ्यांक कसैसँग छैन । 

भाषा संस्कृति बुझेकाले सजिलो भयो 
by nepalarab
आना स्टर
नेपाली गीत गाउने अमेरिकी गायिका 

म त पाँच वर्षसम्म नेपालमा नै बसेकाले पनि नेपाली भाषा संस्कृतिबारे राम्रो जानकारी छ । त्यसैले पनि हामीबीच कुनै समस्या छैन । खासगरी भिन्न भाषा संस्कृति नबुझ्दा नै समस्या उत्पन्न हुने देखिन्छ तर हामी दुवैलाई दुवैको भाषा संस्कृतिको जानकारी भएकाले पनि कुनै कठिनाइ छैन । 

मेरो हकमा म आफूलाई धेरै भाग्यमानी सम्´न्छु । मलाई नेपाली भाषा संस्कृति सिक्ने सु-अवसर मिलेको छ । नेपालमा पनि पश्चिममा बस्ने नेपाली र पूर्वमा बस्ने नेपालीमा पनि केही भाषा र संस्कृतिमा त फरक हुन्छ भने भिन्न देशको मान्छेसँगको सम्बन्धमा फरक त अवश्य नै हुन्छ । 

खानाको सवालमा पनि नेपाली खाना मलाई साह्रै मनपर्छ भने मेरो श्रीमान राम सिंहलाई पनि अमेरिकन खान मन पर्छ । त्यसैले खानमा पनि हामीमा कुनै समस्या छैन । 



नेपाली चाडपर्व उनी सम्झाउछिन् ।

by nepalarab
राम सिंह

कलाकार 

मेरी श्रीमती आना धेरै वर्ष नेपालमा बसेकाले पनि नेपाली कल्चरबारे सबै थाहा छ । मलाई सम्´ना नभएका चाडपर्वहरु पनि उनले सम्झाउने गर्छिन् । त्यो मेरो लागि गर्वको कुरा हो । 

नेपाल पुरुष प्रधान देश भएकाले पनि महिलाहरुलाई अलि दबाउने परिपाटी छ भने यहाँ त्यस्तो छैन । श्रीमान् श्रीमती दुवै कुनै पनि कुरामा कम्प्रोमाइज गर्न सक्ने हुनुपर्छ । 

मेरो विचारमा पनि हामीले दिने माया सम्मानजनक हुनुपर्छ । दया गरेर दिने मायाभन्दा पनि आदरपूर्वक दिने माया नै विदेशीलाई मनपर्छ । यहाँ स्वतन्त्रता छ तर पनि सबैभन्दा ठूलो कुरा विश्वास हुनुपर्छ दुवैजनामा । 

मैले आनासँग विवाह गरेर धेरै कुरा सिक्ने मौका पाएको छु । हाम्रो कल्चरमा पनि धेरै कमजोरी रहेछ भन्ने कुरा नजिकबाट बुझ्ने मौका पाएको छु । 



परम्परा र संस्कृति नमिले डिभोस्र हुन्छु

by nepalarab
अजय छोचुन 


विदेशीहरु अलि बढी राष्ट्रप्रेमी भएको पाएको छु । उनीहरु आफ्नो श्रीमान् पनि आफ्नो देशप्रति आफूले जस्तै देशलाई माया गरोस् भन्ने चाहन्छन् । 
विदेशीसँग विवाह गर्दा उनीहरुमा धनी गरिब तथा उसको चरित्रबारे उनीहरु खासै मतलब गर्दैनन् । विशेषगरी उ कत्तिको नैतकवान छ भन्नेतिर भने उनीहरु ध्यान दिन्छन् । आफूसँग विवाह गर्दा श्रीमती आफ्नो श्रीमानप्रति आस्थावान भएको भेटेको छु अर्थात श्रीमानप्रति इमान्दार भएको भेटेको छु । मेरो हकमा भने भिन्न संस्कृति बोकेको म र यहाँको संस्कृति बोकेकी मेरी श्रीमतीले विवाह भएको एक वर्षसम्म गाईको मासु घरमा ल्याएकी थिइनन् उनले । 

उनीहरु विशेषगरी आफू नै आर्थिकरुपमा बलियो हुन चाहन्छन् । विदेशीहरुमा म र मेरो भन्ने भावना बढी हुन्छ । हामीले हाम्रो परम्परा अनुसार दिइने माया उनीहरुलाई त्यति सहज हुँदैन । हामीले दिएको मायाको तरिकाबाट पनि विदेशी श्रीमती सन्तृष्ट भएको पाइन्न । 

विदेशी श्रीमतीहरु आर्थिकरुपमा पैसालाई बढी महत्व दिने गर्छन् । यसैगरी मेरो हकमा मेरी विदेशी श्रीमतीसँग डिभोस्र हुनुको प्रमुख कारण नै हाम्रो परम्परा र संस्कृतिसँग मेल नहुनु नै हो ।


वादविवाद तुरुन्तै मिल्छु

by nepalarab
देवीरमण सापकोटा

मेरी श्रीमतीलाई एसियन कल्चर थाहा भएकाले पनि हामीमा कल्चरको कुनै समस्या छैन । विदेशीहरुसँगको विवाहमा अलि स्वतन्त्रता बढी हुन्छ । उनीहरु खुल्ला हृदय भएको अर्थात सबै कुरामा खुला हुन चाहन्छन् । मेरो हकमा मेरी श्रीमती बढी असहाय दुखीहरुलाई सेवा गर्ने भावना भएकी छिन् । 

हामी आफ्ना चाडपर्वहरु मान्ने सवालमा दुवैजनाले कम्प्रोमाइज गरी मनाउने गर्छौ र यसले गर्दा आ-आफ्ना चाडपर्वहरुलाई नजिकबाट चिन्ने मौका पनि मिल्ने गरेको छ । हामीमा खाना खाने सवालमा पनि दुवैलाई दुवैको खान सहज हुने गर्छ । त्यसैले पनि हामीमा कुनै असहज परिस्थितिको सिर्जना अहिलेसम्म भएको छैन । सामान्यतः श्रीमान् श्रीमती भएपछि कहिलेकाहिँ सामान्य वादविवाद त भइरहन्छ तर पनि हामी एक अर्कालाई चिनेको लामो समय भइसकेकाले पनि दुवैजना एकछिनमा शान्त भइहाल्छौं । 










Copied from : http://nepalarab.com/articles_view.php?id=1129 

No comments:

Post a Comment