Pages

Wednesday, April 04, 2012

अघोषित बेश्यालय भित्र म

by nepalarab


जानकी, कुवेत


जिन्दगी एक यात्रा हो कहाँबाट शुरु भइ कहाँ पुगेर अन्त हुन्छ कसैलाई थाहा हुन्न जति घुम्ति पार गर्यो उतिनै कठिनाई झेल्नुपर्छ, कति बेला कुन ठाउँमा यात्रा बिहिन हुने हो कस्लाई के थाहा र ? सायद यस्तै होला दैवको लीला ।

उफ ! कस्तो थकाई लागेको, पानी पिउन पर्यो “- लौ ! पानी पनि सकिएको रहेछ आधारात भैसक्यो यतिबेला पानी लिन कहाँ जाने, भैगो भोलिको दिन कुर्नु पर्ला निन्द्रा पनि लागेको छ । अहो ! कस्तो भिर होला यो भिर काटेर कसरि पारि पुग्ने होला ! खै अन्त बाटो पनि छैन यहाँबाट खसियो भने त सिदै नदिमा पुगिन्छ। शहर पुग्नुपर्ने बाटोमा कोहि साथी पनि भेटिएन घनघोर जगंलको बाटो कसरी काट्ने हो ? जे परे पर्ला नडरा जान्छु अब आधाँ बाटो काटि सके ।

कति सुनसान छ यो जंगल, चरा चुरुङगिको चीरविराहाट, कोईलीको कुहुँ-कुहुँले मलाई साथ दिए जस्तो छ, मान्छेको आवात जावत त्यस्तै हो क्यारे । हँ ! त्यो परबाट आउँने को होला । हातमा केहि लिई आए जस्तो छ जो भए पनि कुनै मान्छे त भेटियो । 
अहो, वैनी हतार हतारमा कता जान लागेकी ? ए साईला दाई पो शहर जान लागेकी क्या हो ।

साईला दाई, दिउसै रक्सि खाएर टिल्ल, जिन्दगीलाई रक्सि र जुवामा उडाउन हुदैन, दाई। ल ल जान्नि हुनु पर्दैन, आफ्नो बाटो लाग । बिचार गरेर जानुनी बाटोमा टायर बाल्ने ढुङगा मुडा बर्षाउने गरेका छन् । किन दाई के भयो र ? के हुनु र उहि त हो नि देशको ढुकुटि रित्तायाउनेहरु जनताको रासन पानी तोल मोल गर्यो । जनताहरुको माग चर्किदै जान्छ । नेताहरुको मुख बन्दको बन्दै उहि त हो काग कराउदै जान्छ, पिना सुक्दै जान्छ, अनि त जनताहरु आक्रोशको ज्वाला निकाल्न सुरु गर्छन । त्यसैले नानी देखिनस बम बारुदको बिचमा हुम्मिनु भन्दा र बिच सडकमा टाएर बाल्नुभन्दा यो बोतलको पानिसँग दु:ख साट्नु ठिक लाग्छ । 

के गर्नु वैनि बाटोको बटुवा बाटोमानै निदाईन्छ । लौ दाई, हजुरलाई जति संझाए पनि लाग्दैन ढिला भैसक्यो”- म लाग्छु ल दाईले भनेको ठिकै रहेछ । हाम्रो देशको गति बाटोजाम गरेर के पाउने हुन अब कसरी पुग्ने शहर ? कति सपना बोकेर हिडेका थिएँ । मृत शरिर जमिनमा ढलेको छ, जहाँत्यहि लासको पसारो छ तर पनि लाशको छाति माथि टेकी तोडफोड गर्न छोडेका छैनन् । 

ओई तलाई मर्न मन छ, यो भिडमा उभिएकी ? नाई नाई मलाई मर्नु छैन मलाई केहि नगर्नुस नाई ......... सबिता के निदमा पनि नाई नाइ भनेकी उठ क्या । कस्ले के गर्यो तलाई ? निदरिले परेलिलाई छोड्यो, अन्जान जस्तो गरि नयन उठ्यो, कता कता डरले मन अत्तालियो, घाँटी सुकेको थियो, पसिनाले निथ्रुक भिजेको थियो । कस्तो सपना देखेको होला अनि मेरो नजर सितातिर जुध्यो । सिता, तेरो हातमा चुरोट- मैले त सोचेकी थिए, तँ मेरो असल साथी जस्ले चुरोट, रक्सि छुदैन तर तँ मैले सोच भन्दा फरक रहेछस् ।

आ.... सबिता पनि कस्तो कुरा गर्छे । तसँग फाल्तु कुरामा बक्वास गर्नुभन्दा नबोलेकै राम्रो । तँ जुन सच्चाईको बाटो खोज्दै हिड्छेस्नि, सधैपछि पर्छेस्, “धर्म गरे कर्म जान्छ, पाप गरे फलिफाप हुन्छ”, हेर त साथीहरु कति मजाले जिन्दगी जिएका छन आखिर पैसा कमाउन त हो, दिनमा दुईचारजना पटाईयो भने त दश विश दिनार कमाईन्छ । जस्को साथमा पैसा छ, उसंग घर, गाडी र इज्जत हुन्छ । तैलेजति ईमान्दारको रोटि खोज्छेसनि उतिनै बदनामको आँशु मिल्छ अनि तेरो जिन्दगी गहिरो तालमा डुब्छ, पातमा परेको सितको थोपा जस्तो हुन्छ, बुझिस् ।

तेरो घिनौना कुरा सुन्नु छैन्, मलाई । दुई चार पैसाले तेरो ईज्जत किन्लिस तर ईमान्दारिता होईन । तँ मा हुनुपर्ने जुन स्वाभिमान छैन, जुन एक नारिमा हनुपर्ने हो । तँ यहाँबाट गहिहाल ।हे दैब ! कस्तो लिला रच्यौ तिमीले हेर आज हाम्रा दिदि बैनि आफ्नो जिउको खेति दिनारमा गर्दैछन् । बास बस्ने घर पनि वेश्यालय बनेको छ । म पनि कस्तो अभागि यो मरुभुमिमा कैले कहाँ कैले कता कर्मसँग ठोकिदै हिडे । थकाईका आँखा बन्द गर्छु सपनामा पनि दु:खले पच्छाउछ, परेली उठ्छ, वेश्यालयभित्र बिचित्र देख्नुपर्छ । मान्छे भएर पनि मान्छेको ईज्जत छैन्, यहाँ । आफ्नो जिउलाई दुई चार भलादमी भनाउँदाका ओच्छ्यान बनाएका छन् । आँखा बन्द गर्छु, अंधेरि रात काट्न । फेरी बिहानी पखले छुन्छ अनि म अघोषित वेश्यालयभित्र आफूलाई पाउँछु ।

मेरो दिनचर्या यसरी नै बित्दै गए, दिन भरि सोह्र घन्टाको ड्युटि गर्नुपर्थ्यो, डियुटि सकिएपछि म फेरि उहि वेश्यालयभित्र दिनारमा जीउ ओच्छ्याउनेहरुको चर्तिकला हेर्न बाध्य हुन्थे । साथीहरु मेरो मुखमा दिनारको बिटो देखाउदै, लौ हेर पाँच दश मिनेटमा पाँच दश दिनार आउँछ । तँ सोह्र घन्टा उभिएर पनि यति धेरै पैसा कमाउन सक्दिनस् । भोलि मरेपछि माटोमा मिलाउने शरिर हो जिउडाल देखाएर के काम एक छिन ओच्छायो दस बिस दिनार आउँछ । 

उनीहरुको पेशानै जीउ दिनारमा बेच्ने काम थियो । मैले संझाउन खोज्दथे तर सुन्दैनन्थें, पचास साठि दिनार कमाउने लोभमा पाकिस्तानी, बंगाली, ईजिवशियन, कुवेती जस्ता उनीहरुको दिनार बन्थे । उनीहरुलाई यो पनि थाहा थियो नै, यस्तो क्रियाकलपबाट एच आई भि जस्तो प्राणघातक रोग लाग्न सक्छ, यौन रोग सर्न सक्छ तर पनि मजा दिने पैसा लिने व्यवसाय देखेर होला, उनीहरुले जिन्दगी चिन्न सकेनन् ।

सोह्र घन्टाको डियुटि सकिएपछि कोठामा आयो कुवेतीका साथमा चुरोटको धुँवा, हुस्किको बोतल अनि अर्धनङघ्न शरिर एक अर्कामा लिप्त हुदै मदहोसमा हुन्थे । देखेर पनि नदेखेको जस्तो गरि बस्नुपर्थ्यो, थकाई लागेको हुँदा कोलाहाल मच्चाइए पनि दुई नयन परिबन्धनमा पर्थे । 

सपनीमा पनि कैले भिर, कैले पाखामा लच्छारिएको देख्थे । आफुमाथि कुनै बज्रपात परे जस्तो गरि चिच्चाउदै हिड्थे । सपनीको चित्कारले आफै झंसंग हुदै बिउँझन्थे अनि मेरा आँखा निवर्त्र अर्धनग्न भएका दिदि बैनि माथि पर्थ्यो । रक्सिको बोतल हातमा लिएर जमिनमा पसारिएको हुन्थे, उनीहरु । सायद उनीहरुलाई त्यही स्वर्ग लाग्थ्यो तर म भने चुरोटको धुँवा र रक्सिका वोत्तलहरुले घेरिएको अघोषित वेश्यालयभित्र हुन्थे । 




[ यो कथा काल्पनीक हो कसैको जिवनमा मेल खाएमा संयोग मात्र हुने छ ।-Writer ]



No comments:

Post a Comment