Pages

Sunday, April 14, 2013

सुन्दर मुगुका बारेमा दुई किशोरीको बयान (फोटो फिचर)


सुन्दर मुगुका बारेमा दुई किशोरीको बयान (फोटो फिचर)

अजयबाबु शिवाकोटी। मुगु (गुम्था), ३० चैत। कर्णाली देशकै दुर्गम र विकट भनेर काठमाडौले परिचय दिएको बर्षौ भइसक्यो। तर यसलाई सुगम वनाउने वारेमा काठमाडौं खासै खुलेर नआएको लाग्छ कर्णालीका नागरिकहरुलाई। दुर्गम कर्णालीको पनि  दुर्गम भनेर चिनिने मुगु अनि मुगुको पनि दुर्गम गु्म्था गाउँका नागरिकलाई यस्तै लाग्छ। यस्तै महशुस गर्ने मध्येका हुन बर्ष १६ की भावना रावत र १५मा टेकेकी कविता सिंह।
भावना रावत
हालै एसएलसी दिएकी भावना हुन वा आठ कक्षा पढ्दै गरेकी कविता दुवैलाई काठमाडौंले आफूहरुको ठाउँलाई दुर्गम बन्न छोडिराखेकोमा आक्रोश छ। दुर्गममा कति दुख छ उनीहरुलाई थाहा छ। त्यो दुखमा दिनदिनै पौठाजोरी खेल्नु परेको छ उनीहरु र उनीहरुकै उमेरका अरुहरुले पनि। तर पनि दुखमा पनि हास्न भने उनीहरुले विर्सेका छैन। दुखमा पनि जीउन बानी पार्ने राज्यसँग उनीहरुको थुप्रो गुनासो छ। उनीहरु भन्छन “यो हाम्रो गुनासो मुगुको र कर्णालीको प्रतिनिधिमुलक गुनासो हो। “
भावना रावत
उनीहरुलाई कतिपय राज्यले ध्यान नदिदा आफूहरु र कर्णाली  पछि परेको लागेको छ भने केहि आफ्नै कारणले पनि पछि परिएको भन्ने लागेको छ। भावना भन्छिन “यातायातको सुविधा छैन। बल्ल बल्ल बनेको कर्णली राजमार्गमा पनि मान्छे सवारी चढ्नै डराउँछन।”  हुनपनि राजमार्ग खुलेको केहि समयमै बढेको दुर्घटनाले यो मार्ग ‘मृत्यु मार्गमा’  परिणत भएपछि भावना जस्ता कर्णालीबासीलाई राजमार्ग ‘खाउँ भने दिनभरको शिकार नखाउँ भने कान्छा बाबुको अनुहार’ भएको छ।
कविता भन्छिन “जिल्लामा सुविधा सम्पन्न अस्पताल छैन। भएको अस्पतालमा डाक्टर भेटिए औषधी भेटिन्न। औषधी भेटिए डाक्टर भेटिन्न। हुनेले त तल झरेर पनि उपचार गराउलान। नहुने त उपचार नपाएरै मर्नुपर्छ। “  तल भनेको सुविधा सम्पन्न उपचार हुने सुर्खेत, नेपालगञ्ज र काठमाडौंलाई उनले संकेत गरेकी थिइन। वेला वेलामा हुने स्वास्थ्य शिविर नै विशेषज्ञ उपचार पाउने एकमात्र विकल्प हुन्छ त्यसैले यस्ता शिविरमा हजारौले सेवा लिन मरिहत्ते गर्छन कविता भन्दै थिइन।  धेरै ठाउँमा माथिकाले राम्रो सेवा सुविधा पाउँछन तर यहाँ भुगोलको हिसावले माथि रहेको मुगुका मानिसले राम्रो सेवा सुविधा पाउन सकेका छैनन।
हुन पनि मुगुको गम्थामा स्वास्थ्य शिविरमै आफन्तहरुसँग आएका यि दुईलाई तल झरेर स्वास्थ्य सेवा लिन कति गाह्रो छ राम्रै थाहा छ। त्यसैले उनीहरु भन्छन “तल गएर लामो दुख वेसाउनु भन्दा यहाँ एक दिनको दुख वेसाएरै भएपनि सेवा लिन ओइरो लागेको छ।” भावना थप्छिन “तल जानु कुनै विदेशको यात्रा भन्दा सस्तो पनि छैन। भरपर्दो सडक मार्ग नहुँदा हवाइजहाज नै रोज्नुपर्छ। अत्यावश्यक नै पर्दा हेलिकप्टर पनि मगाउनुपर्छ।”
कविता सिंह
मानव विकास तथा प्राकृतिक वातावरण संरक्षण केन्द्र, तलिबगड, मुगुले जिल्लाको गम्था गाविसमा एक हप्ते स्वास्थ्य शिविर राखेपछि चार दिनमा नौ हजारको हाराहारीले सेवा लिएका थिए। केन्द्रका सल्लाहकार खड्ग वहादुर शाहीले ओम अस्पतालसँग संयोजन गरेर मिलाएको व्यवस्था अन्तर्गत ओम अस्पतालका डा भोला रिजाल लगायतका काठमाडौंका ४६ जना डाक्टरहरुले सेवा दिएका थिए।
भावना भन्दै गइन “जिल्लामा पानीको मुहानहरु छन तर गाउँघरमा खानेपानी छैन। खानेपानी ल्याउन महिलाहरुलाई एक विहान खर्चनु पर्छ। गरिवी  छ। खान लाउन पुग्दैन। खान लाउन राम्रोसँग नपाएकाहरु उमेरमै बुढाबुढी देखिएका छन्। औसत उमेर थौरै छ। गरिवका छोराछोरीले राम्रोसँग पढ्न पाएका छैनन। राज्यका सेवा सुविधा कि त ठूला वडाले कि त राजनीतिक दल निकटकाले भागशान्ति लगाएका छन्। निमुखाहरु विकासबाट पनि वञ्चित छन्। जातपातको कुराले पनि हाम्रो विकासलाई प्रभावित तुल्याएको छ।”
प्राकृतिक सम्पदाको उपयोग हुने नाममा यसको बढ्दो विनास पनि मुगुको समस्या हो। विद्यालयमा पढेको कुरा सम्झदै कविता भन्दै थिइन “प्राकृतिक सम्पदाको विनासले ग्लोवल वार्मिङको समस्या हाम्रो मुगुमा पनि देखिएको छ। हुन त यसमा संसारका धनी देशहरुको हात वढी छ भन्छन। “
उनीहरुलाई लाग्छ मुगुलाई भन्दा रारा ताललाई सम्झिनेहरु वढी छन्। राराको सुन्दरताले राजादेखि रङकसम्म सबैलाई लठ्याएको छ तर रारालाई काखमा लिएर वसेकी मुगुलाई विर्सदा उनीहरुको मन कटक्क हुन्छ। सुन्दर मुगु. सुन्दर रारा र मुगुका सुन्दरी यि किशोरीहरुको कुरा वास्तवमै सुन्दर छ। के राज्यले यि किशोरीहरुको कुरामा पनि ध्यान देला?


साभार गरिएको :  http://www.hamrakura.com/91279.html




No comments:

Post a Comment