Pages

Friday, June 15, 2012

पिसाब चुहिने समस्याबाट बच्ने उपाय


साबार - कान्तीपुर दैनिक पत्रीका - वैशाख १२
सोच्नुस् त हाँस्नलाग्दा यदि कसैको पिसाब चुहिन लाग्यो भने के गर्ने ? अझ खोक्दा, व्यायाम गर्दा वा गह्रौं वस्तु उचाल्दासमेत यस्तै अवस्थासँग जुध्ने गरेका महिलाको कस्तो गति होला ? सोच्दा नै आङ सिरिङ्ग हुने यो समस्यामा परेका महिलाहरू भने मुलुकमा कम छैनन् । गन्हाउने लगायतका कारणले उनीहरू सामाजिक रुपले समेत बहिस्कृतजस्तै भएर हीनताबोधका साथ असामान्य जीवन व्यतीत गर्न बाध्य छन् । यसको उपचार सम्भव भए पनि जानकारीको अभावमा उनीहरू अत्यन्त कठिन जीवन विताउन बाध्य छन् ।
महिलाहरूमा पिसाब चुहिने समस्या व्यापक भए पनि यसलाई गोप्य राखिन्छ, अरुलाई थाहा दिइन्न र सकेसम्म लुकाउने प्रयास गरिन्छ । यसरी रोग लुकाउँदा  निको हुनुको सट्टा समस्या झन् बढ्दै विकराल रूप लिन्छ । विशेषज्ञ चिकित्सकहरूसंँग परामर्श लिएर उपचार गर्नुपर्नेमा लाज मानेर रोग लुकाउँदा अनावश्यक रूपमा आफैले आफैलाई पीडा दिनुपर्ने बाध्यता आइलाग्छ । यसको उपचार सरल छ ।
यो समस्याका मुख्य दुई प्रकारका हुन्छन्- क) स्ट्रेस इनकन्टिनेन्सको अवस्थामा खोकी लाग्दा, हाच्छिउँ गर्दा, हाँस्दा, व्यायाम गर्दा वा गहं्रांै सामान उचाल्दा पिसाब चुहिने गर्छ । ख) अर्ज इन्कन्टिनेन्सको अवस्थामा पटक-पटक पिसाबले च्याप्ने र शौचालयसम्म पनि पुग्न नपाई बीच बाटोमै चुहिने समस्या देखापर्छ । यस्तै कहिलेकाहीं तेस्रो अवस्था अन्तर्गत माथिका दुवै समस्याको मिश्रति रुपसमेत देखिने गर्छ, जसलाई मिक्स्ड इनकन्टिनेन्स भनिन्छ ।
यतिमात्र नभई पिसाब चुहिने अन्य कारणहरू पनि हुनसक्छन् । यस अन्तर्गत  जटिल प्रसूतिका कारण उत्पन्न अब्सटे्रटिक फिस्टुला, शल्यक्रिया गर्दा मूत्रथैलीमा औजार लागेमा, पाठेघरको मुखमा भएको क्यान्सरमा समेत पिसाब चुहिने समस्या देखिन सक्छ ।
पिसाब चुहिने समस्या पुरुषका भन्दा महिलामा बढी देखिन्छ । महिलाको प्रजनन अङ्ग र मूत्रथैलीको बनावट  पुरुषको भन्दा फरक भएकोले र यी अङ्गका तन्तुहरूमा गर्भावस्था एवम् प्रसूतिका बखत चोटपटक लाग्दा महिलामा पिसाब चुहिने समस्या बढी देखिन्छ । यसका साथै महिनावारी सुकेपछि हुने हर्मोनको कमी तथा उमेर बढ्दै जाँदा यो समस्या देखिन्छ  ।
बढी मदिरा सेवन गर्दा, चिया-कफीजस्ता तरल पदार्थ बढी पिउँदा र बढी मसलादार खाना खाँदा पनि यस्तो समस्या देखापर्छ । यसैले यस्ता समस्यालाई निम्तो दिएर पाहुना बनाई पालिराख्ने कि बिदा दिने भन्ने कुरो आफ्नै आहारविहारमा भर पर्छ ।
पिसाब चुहिने समस्याले जीवनमा थुप्रै किसिमका समस्या भोग्नुपर्ने हुन्छ । यस्ता समस्याहरू सामान्य क्रियाकलापका कारण पनि उत्पन्न हुनसक्छन्  । उदाहरणका लागि व्यायामजस्ता शारीरिक श्रमका काम गर्न सकिन्न । छिनछिनमा शौचालय गइरहनुपर्छ । यसबाट निद्रामा समेत बाधा पुग्छ । परिणाम, काम गर्नसक्ने क्षमता ह्रास हुन्छ र व्यक्तिगत जीवनमा उदासी र चिन्ता छाउँछ । त्यसैले यसबाट बच्न रोग लाग्यो भनेर निधारमा हात राखी चिन्ता गर्नुभन्दा महिला आफैले ध्यान दिनुपर्छ ः समुचित मात्रामा तरल पदार्थ पिउने, नियमित रुपमा व्यायाम गर्ने, सुर्तीजन्य वस्तु र मदिरा सेवन नगर्ने, कब्जियतबाट जोगिने उपाय अपनाउने, गर्भावस्था र सुत्केरी अवस्थामा योनिको मांसपेशीलाई बलियो पार्नका लागि पेल्भिक फ्लोर व्यायाम आदि गर्नुपर्छ ।
रोकथामका उपाय अवलम्बन गर्नुका साथै अन्य उपचार पद्धतिबाट पनि पिसाब चुहिने समस्या समाधान नभएमा यसका लागि आधुनिक शल्यक्रियाको सुविधा छ ।  हाल नेपालमा यो सुविधा उपलब्ध छ । शल्यक्रियामार्फत सिन्थेटिक जालीको स्लिङ राखेर मूत्रनलीलाई बलियो पारिन्छ । यसबाट खोक्दा वा हाच्छिउँ गर्दा पिसाब चुहिने समस्याबाट मुक्ति पाइन्छ । यसका साथै महिलाहरूले चिकित्सकसंग जाँच गराएर र परामर्श लिएर उपचारका अन्य विधिहरू पनि अपनाउन सक्छन् ।
लेखक परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल युरोगाइनोकोलोजी युनिटकी प्रमुख कन्सलट्यान्ट तथा संयोजक हुन् ।

No comments:

Post a Comment