Pages

Saturday, March 31, 2012

पेटको बच्चा फाल्नु कि पाल्नु ?


-मीना, कुवेत
यो संसार नै स्वार्थी छ । सबैले आफ्नै दुनो सोझ्याउँछन् । अप्ठेरोमा पारेर मौकाको फाईदा उठाउनेहरु धेरै हुँदा रहेछन् । झुटा आश्वासन र जालमा पारेर कुवेत पठाउने गाउँकै एजेन्टले पनि मलाई यस्तै हर्कत गर्यो । काम लगाईदिने आश्वासनमा उसले मलाई गर्भवती बनायो । उसको पाप पेटमा बढ्दैछ । अब यो बच्चा फाल्नु कि पाल्नु…?
शोषणको शुरुवात
म चार महिना कुवेत आईपुगेको हुँ । घरमा सात बषिर्य छोरा, चार बषिर्या छोरी र श्रीमानलाई छोडेर कुवेत जाने चाहना त थिएन । तर दिन­रातको खेती किसानी र ज्याला मजदुरीले गुजारा गर्न गाह्रो भयो । त्यहाँमाथि श्रीमान अपाँग । गुजारा गर्न आफैं अग्रसर हुनुपर्ने बाध्यता । अनि श्रीमान र छोराछोरीकै सल्लाहमा कामको लागि कुवेत जाने तरखर गरें । गाउँकै एजेन्ट राजु राईसित भेट भयो । उसले कुवेत पठाउनको लागि सबै सरसहयोग र आवश्यक प्रवन्धको व्यवस्था गरिदिने भयो ।
आफ्नै गाउँको मान्छे र श्रीमानसँग पनि राम्रो चिनजान भएकोले राजुमाथि कुनै शंका थिएन । ठूलो आत्मविश्वाश र राजुको भरोसामा कुवेतको सपना देख्दै काठमाडौंको लागि रात्रीबसमा चढें । सँगै सिटमा राजु थियो ।
जब बस चल्न शुरु भयो, तब राजु एक्कासी परिवर्तन भयो । उसले बिभिन्न आश्वासन र झुटा कुराहरु गर्न थाल्यो । बिदेशमा यस्तो हुन्छ, मैले भनेको मान्यौ भने कुवेतमा बढी पैसा दिने र सुबिधा सम्पन्न घरमा पारिदिन्छु, म तिमीलाई अरुलाई भन्दा छिटो पासपोर्ट बनाएर राम्रो घरमा पठाउँछु, यस्तै यस्तै कुराहरु गर्‍यो उसलेे । मैले पनि हो मा हो लगाएँ ।
कहिल्यै काठमाण्डू नगएकी मलाई राजूले होटलमा राख्छु भन्यो । तर होटलमा नभएर सामाखुशीको आफ्नै कोठामा लग्यो । मलाई कोठामा राखेर आफू साथीकोमा बस्ने भनेपनि ऊ फेरि राति कोठामा आयो । उसले त मदिरा सेबन गरेर आएछ । केही मातेर आएको उसले खाना खान अनुरोध गर्‍यो । मनभरी शंका र डर बोकेर खाना खाएँ । अनि मेरो कालरात्री शुरु भयो । उसले मलाई जबरजस्ती गर्‍यो । डर­धम्की र त्रास देखायो । झुटा आश्वासन र जालझेल देखायो । उसले आज भोलि भन्दै करीब ४५ दिन ऊसंगै बस्न र सुत्न बाध्य बनायो । जुन क्षणहरुलाई म शब्दमा बताउन सक्दिन ।
कहिलेकाहीं त आत्महत्या गरौं कि जस्तो पनि लाग्थ्यो । तर न मर्न सकें । न खुशी हुन नै । काठमाडौं रहँदाको हरेक दिन रोएरै बित्यो । निकै बिन्तीभाऊ र उसले भनेको सबै मानेपछि बल्ल­बल्ल महिना दिनपछि पासपोर्ट पाएँ । कुर्दाकुर्दै काठमाडौं आएको ४७ दिनपछि ऊ कुवेत जाने टिकट लिएर आयो । जे भए पनि कुवेत त जाने भएँ । ऊबाट मुक्त हुने भएँ भनेर खुशी भएँ ।
अनि एयर अरेबियाको उडानबाट अरु तीनजना नेपाली बहिनी सहित म पनि मनमा ठूलो आशा बोकेर कुवेत आइपुगें ।
कुवेतको कहर
म लगायत अरु तीनजना नेपाली बहिनीहरु कुवेत एयरपोर्टमा पुगेको दुईघण्टा पछि एकजना नेपाली एजेन्ट दिदीले जाहारा भन्ने ठाउँमा लिएर जानुभयो । दुई दिन उहाँसँगै बस्यौं । तेस्रो दिन मलाई कुवेतको सुलेबियाखात भन्ने ठाउँको एक घरमा काम गर्नको लागि मासिक ४५ दिनारमा पठाइयो । मैले यस बेलासम्म मेरो पेटमा बच्चा होला भन्ने सोचेको त के कल्पना समेत गरेको थिईन ।
म आफूले सकेजति राम्रो र सफासँग काम गर्न थालें । घरका साहु र साहुनी पनि राम्रै थिए । बिहान सवेरैदेखि राति अबेरसम्म घरको सबै काम गर्न परे पनि म खुशी नै थिएँ । खानलाई पनि राम्रै थियो । एक महिना जतिमा त केही अरबिक भाषा पनि बुझ्ने र बोल्न सक्ने भएँ । कुवेत आएपछि घरमा दुईपटक फोन पनि गरें । पहिलो महिनाको ४५ केडी पैसा पनि साहुनीले घरमा पठाउन सहयोग गरिन् ।
कुवेत आएको दुई महिनापछि पेटमा बच्चा भएको जस्तो महसुस भयो । थाहा पाउने हुन् कि भनेर सकेसम्म लुकाउने कोशिस गरेँ । तर हरेक दिन पेटको बच्चा ठूलो हुँदैछ । हुन त साहुनी पनि दयालु थिईन् । लुकाउनै नसक्ने अवस्था भएपछि मैले साहुनीलाई आफ्नो पेटभित्र बच्चा रहेको शंका लागेको बताएँ । उनले त्यसैदिन एक नजिकैको क्लिनिकमा लगेर जाँच गराइन् । डाक्टरले अरबिक भाषामा साहुनीलाई खुसुक्क केही भन्यो । मैले बुझ्न सकिन ।
बेलुका साहुनीले मलाई सबै कुरा सोध­खोज गरिन । मैले पनि यथार्थ बताएँ । उनले नराम्रो त भनिनन् । तर मलाई पुलिसमा बुझाउने भनिन् । यो सुनेर म डराएँ । रोएँ, कराएँ, हारगुहार गरेँ, बरु आफ्नै देश र्फकने बताएँ । अनि भोलिपल्ट साहुनीले मलाई जहाराको नेपाली एजेन्ट दिदीको कार्यालयमा पुर्याईदिईन् ।
ति दिदीले मलाई निकै गाली गरिन् । डर र त्रास देखाईन् । दूतावास लगेर थुनिदिने बताईन् । मैले त्यसो नगर्न निकै बिन्ती गरें । उनले मनाई भन्नु नभन्नु मुखमा आएजति सबै गाली गरिन् । बेलुकी कोठामा पुगेपछि सबै सोध­खोज गरिन् । मैले पनि सबै वास्तविकता बताएँ । मेरो यथार्थ बुझेपछि उनले मलाई नेपाल फर्काउने आश्वासन दिईन् । अब म नेपाल र्फकने टिकटको पखाईमा छु । अब दुई हप्तामा नेपाल र्फकने कुरा छ ।
नेपाल र्फकने दिन नजिकिँदै गर्दा मेरो मुटुको ढुकढुकी पनि बढ्दैछ, सँगै पेट पनि । नेपाल पुगेपछि म यो बच्चा लिएर घर जान सक्ने अवस्थामा छैन । बिदेशमा पैसा कमाउन गएकी म पेटमा अर्काको बच्चा लिएर र्फकंदा मेरो अपांग श्रीमान र ती दुई बच्चाहरुको के हालत होला ? अनि अरु गाउँलेहरुले के भन्लान ? म मरौँ कि बाँचौं ? न मलाई त्यो गाउँको एजेन्ट राजुले नै बच्चा सहित स्वीकार्छ न मेरो श्रीमानले नै । म के गरौं ? कसो गरौं ? आफंै अन्योलमा छु ।
एक मनले काठमाडौं गएर बच्चा फालेर फेरि बिदेश आउँ भन्छ । अर्को मनले कुनै संघ­संस्थाको सहयोगले त्यो एजेन्ट राजुलाई कानुनको कठघरामा उभ्याउने विचार गर्छ । तर म मेरो परिवारलाई भताभुंग पार्न पनि चाहन्न । न म सँग पैसा नै छ । न त मनमा शान्ति ।
-बैदेशिक रोजगारीमा कुवेत पुगेकी सुनसरीकी मुनासँग कुवेतमा रहेका पत्रकार हरिकृष्ण न्यौपानेले गरेको कुराकानीमा आधारित)

No comments:

Post a Comment